Tuesday, August 11, 2015

प्रथम साफ यू–१९ च्याम्पियनसिप:नेपालका प्रतिद्वन्द्वी बंगलादेश र भुटान

काठमाडौं, श्रावण २६ - आयोजक नेपालले प्रथम साफ यू–१९ च्याम्पियनसिप फुटबलको समूह चरणमा बंगलादेश र भुटानलाई प्रतिद्वन्द्वी पाएको छ ।
Nepal U-19 Football team during training session for the first U-19 SAFF  Championship,Nepal
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सामबार भएको ‘ड्र’ मा नेपालले
परम्परागत प्रतिद्वन्द्वी बंगलादेश र उमेर समूहमा कमजोर मानिएको भुटानसँग समूह ‘ए’ मा प्रतिस्पर्धा गर्नेछ । भदौ ३ गते हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्नेछन् । त्यसको चार दिनपछि नेपाल र बंगलादेश खेल्नेछन् । दक्षिण एसियाका ६ देश सहभागी प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र अफगानिस्तान छन् ।
समूहविजेता र उपविजेता टिमले अन्तिम चारमा प्रवेश पाउनेछन् । प्रतियोगितामा कुल नौ खेल हुनेछन् । फाइनल भदौ १२ गते हुनेछ । दक्षिण एसियाली देशहरूबीच पहिलोपल्ट आयोजना हुन लागेको युथ च्याम्पियनसिपमा पछिल्लो एएफसी यू–१९ च्याम्पियनसिपमा गरिएको प्रदर्शनका आधारमा सहभागीलाई ‘ड्र’ मा वरीयता दिइएको थियो । यस्तोमा बंगलादेश सबभन्दा अगाडि र भुटान पुछारमा रहेका थिए । दक्षिण एसियाली आठ देशमध्ये श्रीलंका र पाकिस्तान सहभागी छैनन् ।
प्यारापिट निर्माण कार्य समयमै पूरा भएमा एन्फा कम्प्लेक्सस्थित आर्टिफिसियल टर्फमा खेल सञ्चालन गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले बताए । ‘निर्माण कार्य नसकिए लगनखेलस्थित सेनाको शारीरिक तथा खेलकुद प्रशिक्षण केन्द्रमा खेल आयोजना गर्नेछौं,’ उनले भने ।

No comments:

Post a Comment