Friday, August 7, 2015

ज्ञानेन्द्र मलेसिया नजाने

काठमाडौं:
नेपाल क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल ब्याट फर नेपालका लागि मलेसिया नजाने भएका छन्।
भूकम्पपीडित सहयोगार्थ मलेसियामा हुने च्यारिटी खेल क्वालालम्पुरस्थित किनरारा ओभलमा अगस्ट ९ मा हुनेछ। घरायसी कारण ज्ञानेन्द्र नजाने भएको प्रशिक्षक पुबुदु दसानायकेले बताए।
उनका अनुसार ज्ञानेन्द्रको स्थानमा नरेश बुढाऐरलाई टिममा राखिएको छ। अगस्ट २६ देखि सेप्टेम्बर ४ सम्म मलेसियामै हुने एसीसी यू–१९ प्रिमियरमा राजुकै कप्तानीमा नेपाली टोली उत्रिँदै छ। क्यान ११ को नामबाट खेल्ने नेपाली टोलीमा राजुसँगै महबुब आलम र भुवन कार्कीलाई समेटिएको छ।
क्यान ११ बाट खेल्ने अन्य खेलाडीहरूमा
पारस खड्का (कप्तान), नरेश बुढाऐर, शरद भेषवाकर, राजेश पुलामी, सोमपाल कामी, अनील मण्डल, सिद्धान्त लोहनी, शक्ति गौचन, अविनाश कर्ण र करण केसी छन्। स्कटल्यान्डसँग विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलेको टोलीबाट वसन्त रेग्मी र प्रदीप ऐरीलाई मलेसिया जाने टोलीमा राखिएको छैन।
श्रीलंकाका महान् क्रिकेटर सनथ जयसुर्याले नेपाल ११ सँगको खेलमा कप्तानी गर्ने भएको मलेसिया क्रिकेटको आधिकारिक वेबसाइटमा जनाइएको छ। विश्वकप विजेता जयसुर्याले अन्तर्राष्ट्रिय क्रिकेटमा २१ हजारभन्दा बढी रन बनाउनुका साथै ४ सय ४० विकेट लिएका छन्।
विश्व ११ बाट पाकिस्तानका पूर्व विकेटकिपर रसिद लतिफ, बंगलादेशको पहिलो टेस्ट कप्तान अमिनुल इस्लामसँगै अब्दुर रज्जाक र सोहाग गोजी, भारतका भिनुगोपाल राओ छन्। अन्य खेलाडीमा अस्ट्रेलियाका स्टिभ ओ’किफे, मार्कुस स्टाइनिस, मलेसियाका फैज नुर, सुरेश नभरत्नम, सिंगापुरका चेतन सूर्यवंशी छन्। ओ’किफे र स्टाइनिस अस्ट्रेलिया ‘ए’ बाट भारतमा खेलिरहेका थिए। महबुबले आफू टिममा परेपछि खुसी हुँदै सोसल मिडियामा लेखे, ‘मेरो सपना पूरा भएको छ। सनथ जयसुर्यासँग खेल्नका लागि म उत्साहित छु।’

No comments:

Post a Comment